देउखुरी । केन्द्रीय राजनीतिमा समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ ।
वर्तमान सरकारमा सहभागी दलहरु पनि नयाँ समीकरणको आधारमा सरकार गठनमा सक्रिय देखिन थालेका छन् । प्रदेश सरकार परिवर्तन र राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ राजनीतिक दलको बुधबार संयुक्त बैठक बसेको छ । प्रदेशसभाको छैठौं बैठक सकिएलगत्तै आठ राजनीतिक दलको बीचमा बैठक बसेको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । ‘निश्चय पनि केन्द्रीय समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि पर्छ । हामी राष्ट्रिय पार्टी हौं । अब प्रदेशमा नयाँ समीकरणको आधारमा सरकार गठनको लागि हामीले पहल लिएका छौं’– कांग्रेस संसदीय दलका नेता चौधरीले भन्नुभयो– ‘नयाँ समीकरण बनेसँगै हामीसँग सुविधाजनक बहुमत छ । बहुमत सिद्ध गरेर सरकार परिवर्तन गर्छौं ।’
SPONSORED
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा दलको संयुक्त बैठक बसेको हो । नेकपा एमाले नेतृत्व सरकारमा बसेका मन्त्रीहरु समेत आठदलीय बैठकमा सहभागी भएका छन् । नेकपा माओवादी संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, जनमत पार्टी संसदीय दलका नेता तथा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता बैठकमा सहभागी हुनुहुन्थ्यो । लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेले वर्तमान सरकार असफल भएको दाबी गर्दै नयाँ सरकार बन्ने जिकिर गर्नुभयो । उहाँले अबको दुई महिनाभित्र प्रदेशमा नयाँ सरकार बन्ने दाबी गर्दै आफूहरु नयाँ समीकरणका साथ अघि बढ्ने जानकारी दिनुभयो ।
SPONSORED
‘वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं । त्यसको एक महिनाभित्र मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाउनेवाला छैन’– उहाँले भन्नुभयो– ‘त्यसपछि नयाँ सरकार आउँछ ।’ तर यो प्रदेशमा एमाले पहिलो दल भएकाले वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउन सकस भने देखिन्छ । बैठकमा राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आयोजना गर्न थालिएको प्रदेश सांसदको संयुक्त प्रशिक्षणको बारेमा छलफल गरिएको छ ।
SPONSORED
हाल प्रदेश सरकारमा एमालेका मुख्यमन्त्रीसहित पाँच, नेकपा माओवादीका तीन, राप्रपा, जसपा र जनमतका एक÷एक गरी ११ सदस्यीय मन्त्रिमण्डल छ । माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा शहरी मन्त्रीको जिम्मेवारी तोकिएकी कृष्णा केसीले हालसम्म पदभार ग्रहण गर्नुभएको छैन । नयाँ तोकिएको जिम्मेवारीमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले पदबहाली गर्नुभएको छैन । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, लोसपा र जनमतका तीन–तीन र दुई स्वतन्त्र सांसदहरुसहित ५८ जनाको प्रस्तावमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य छन् ।