फोरलेन सडकको झनै हरि बिजोग : ठेकेदारले नयाँ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई टेरेनन् !

दाङ । ठीक एक वर्षअघि घोराहीको कटुवाखोलानजिकै खेतमा टेन्ट र कार्पेट टाँगेर घोराही–तुलसीपुर सडक निर्माण कार्य शुभारम्भ कार्यक्रम लेखिएको व्यानर झुण्ड्याइयो । उसो त फोरलेन निर्माण भइसक्नपर्ने मिति सात महिनाअघि नै सिद्धिसकेको थियो तर घोषणा गरियो, फोरलेन सडक कार्य शुभारम्भको !

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, निर्माण व्यवसायी तथा ठेकेदार कम्पनी तथ्य इन्जिनियरिङका प्रबन्ध निर्देशक प्रवीण ब्रम्हदेब पाण्डेलगायतले आफ्ना भनाइ राखे । १० वटा समूह विभाजन गरेर काम हुने र चार सय मजदुरहरु काममा खटिने । जसअनुसार पाँचवटा एस्काभेटर, १० वटा जेसिभी, २२ वटा टिप्पर, १० वटा ट्याक्टर, पाँचवटा पानी ट्यांकर प्रयोगमा ल्याउने र काम एक साताभित्रै शुरु हुनेलगायतका जानकारी निर्माण कम्पनीका इन्जिनियर विजय पाठकले गराउनुभयो । फोरलेन छिट्टै बन्ने भयो, सबैले ताली बजाए कार्यक्रम सकियो ।

SPONSORED

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भन्नुभएको थियो– ‘अबदेखि स्थानीय प्रशासनले फोरलेन सडकको कार्य प्रगतिमा दैनिक एकघण्टा चासो दिन्छ । यदि दु्रतगतिमा काम भएन वा काममा आलटाल भयो भने कानुनअनुसार कारवाही प्रक्रिया अघि बढ्छ ।’ एक वर्षपछि पनि फोरलेनको अवस्था ज्यूँ का त्यूँ छ । न काम भयो, न कसैलाई कारवाही ! बरु तत्कालीन समयमा गरिएको त्यो तामझाम अहिले फोरलेनको प्रगति हेर्दा रमिता सावित भएको छ । यद्यपि यतिबेला भने प्रजिअ रेग्मीको बोली बदलिएको छ । उहाँ भन्नुहुन्छ– ‘कार्यक्रम आयोजना गर्छन्, काम गर्छु भन्छन्, विश्वास गर्नैप¥यो । अहिले चाहिँ गर्छन् कि जस्तो छ ।’

SPONSORED

गत दशैंयता फोरलेन निर्माणको कुनै पनि काम भएको छैन । काम भइरहेको बेला बनाइएको डाइभर्सनहरु खाल्डामा परिणत हुँदा घोराही–तुलसीपुरको यात्रा निकै कष्टकर हुने यात्रुहरु गुनासो गर्छन् । घोराही–१७ का भागवत शर्मा भन्नुहुन्छ– ‘जागिरको सिलसिलामा दिनहुँ घोराही–तुलसीपुर गर्नुपर्छ । यो सडकमा धुलो धुवाँ त सामान्य कुरा भइहाल्यो । दिनप्रतिदिन बढिरहेका खाल्टाखुल्टीका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ तर यसप्रति कुनै पनि निकायको चासो छैन ।’ उहाँ भन्नुहुन्छ– ‘राज्यले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न सक्दैन, अझ म्याद थपेर पठाउँछ । काम गर्दागर्दै कुनै कारणवश थोरै काम बाँकी रहे पो म्याद थप्ने हो, कामै नगर्नेलाई पनि म्याद थप गर्ने हुन्छ र ? अनि गत वर्ष सिडियो सावसहितको टोलीले गरेको सडक शुभारम्भ कार्यक्रम कहिले सम्पन्न हुने हो ? स्थानीय सरोकारवालाहरु पनि विभिन्न बहाना गर्दै नागरिकका आँखामा छारो हाल्ने काम गर्छन् । अहिलेको छलफल त्यस्तो नहोस्, बाटो छिट्टै बनोस् ।’

SPONSORED

शनिवार सडक सुधार तथा विकास आयोजनाका आयोजना निर्देशक चुडाराज ढकाल नेतृत्वमा हाल फोरलेन सडक निर्माणको जिम्मेवारी पाएको श्रेष्ठ कन्स्ट्रक्सनका डाइरेक्टर सुवास श्रेष्ठसहितको टोली लमही–घोराही–तुलसीपुर फोरलेन सडकखण्डको अनुगमनका लागि दाङ आयो । यसैक्रममा दाङ–२ बाट निर्वाचित जनप्रतिनिधि, प्रजिअ, दाङ प्रहरी प्रमुखलगायत आयोजनाको टोली र ठेकेदार कम्पनीका डाइरेक्टरबीच फोरलेन निर्माणका विषयमा छलफल र केही सम्झौता पनि भयो । फोरलेन परियोजनाका रेसिडेण्ट इञ्जिनियर ईश्वरीप्रसाद अमगाइँकाअनुसार १५ दिनभित्र रोकिएको काम शुरु गर्ने, एक महिनामा ६ प्रतिशत काम भएको हुनुपर्ने, यदि नभएमा ठेक्का रद्द हुनेलगायतका सम्झौतामा निर्माण व्यवसायी श्रेष्ठले सहमति जनाउनुभएको छ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रेखा शर्मा, २ क का प्रदेश सभा सदस्य राजु खनाल र ख का प्रदेश सभा सदस्य प्रचण्ड न्यौपाने गुन्टुको उपस्थितिमा सहमति भएपनि, त्यो कागजमै सिमित रह्यो ।

हुन्छ त ठेक्का रद्द ?

श्रेष्ठ कन्स्ट्रक्सनले २०७८ चैतमा फोरलेनको जिम्मेवारी लिंदा दुई पटक म्याद थप भई सात प्रतिशत काम भएको थियो । हालसम्म आइपुग्दा कामको प्रगति १० प्रतिशत पुगेको छ । अहिले आएर निर्माण व्यवसायीले एक महिनामै कामको प्रगति छ प्रतिशत पु¥याउने आश्वासन र ठेक्का रद्द हुने कुरामा समेत गरेको सहमतिप्रति फोरलेन परियोजनाका कर्मचारीहरु नै शंका गर्छन् । ‘अहिलेसम्मको कामको गति हेर्दा पाएको मितिमा काम सम्पन्न हुने आधार छैन तर निर्माण व्यवसायीले लगानी गर्न सके समयमै काम सम्पन्न हुन पनि सक्छ ।’ इञ्जिनियर अमागाइँ भन्नुहुन्छ– ‘जहाँसम्म ठेक्का रद्दको कुरा छ, १५ दिनमै काम शुरु नभएमा वा १ महिनामा ठ्याक्कै ६ प्रतिशन नपुगमा ठेक्का रद्द नै हुने कुरा त हुँदैन । किनभने सार्वजनिक खरिद ऐनको १२ औं संशोधनअनुसार श्रेष्ठ कन्स्ट्रक्सनले २०८० असार मसान्तसम्मलाई म्याद पाएको छ । उसको काम गराइको प्रकृति हेरेर चित्त बुझ्दो नभएमा ठेक्का रद्दको प्रक्रियामा जाने हो । चित्त बुझ्दो भएमा उसैले काम सम्पन्न गर्छ । ठेक्का अवधिभर उसले गरेका सम्झौताका आधारमा ताकेता चाहीं गर्छौं ।’

hospital dang ghorahi