जे.एन. सागर
सानैदेखि गीतसंगीतमा मन जान्थ्यो, स्वर पनि राम्रो थियो । त्यसैले हो कि जहाँतही गुनगुनाउँदा सुनेर साथ दिनेहरुले पनि हौसला थपिरहन्थे । औपचारिकरुपमा २०६६ सालमा पहिलो गीत रेकर्ड गरेका घोराही उपमनपा–९ पोखरामा जन्मेर हाल नारायणपुरमा बस्दै आउनुभएका शरद समिपले गीतसंगीत क्षेत्रमा बेग्लै पहिचान बनाइसक्नुभएको छ । गीति एल्वम थोरै छन्, तिम्रो माया, समिप र विभेद गरी तीनवटा उहाँका गीति एल्वम हुन् । तर फुटकरसहित अहिलेसम्म ५५ वटा गीत गाइसक्नुभएका शरदको गीतिधार अरु भन्दा अलग छन् । राष्ट्रप्रेम, सचेतना र विभेद विरुद्धको विद्रोह शरदका गीति पहिचान हुन् ।
SPONSORED
तिमी सुनसँग जोखिने मान्छे
म सुनपानीले चोखिने मान्छे
हाम्रो सम्बन्ध सम्भव नहोला,
तिमी फूलको बाटो हिँड्दा म काँडामा रोपिने मान्छे ।
SPONSORED
एक्काइसौ शताव्दीमा पनि समाजमा जातीय विभेद खेप्नुपर्दाको पीडा शरदले गीतमा पोख्नुभएको छ । कथित दलितहरुले त राम्रो खादा, राम्रो लगाउँदा उपहास गर्ने र कोही गैरदलितले नराम्रो काम गरे दलितजस्तो भन्दा दोस्रो दर्जाको महसुस गर्नुपरेको स्वयं शरदको अनुभव छ । दिनभरि आफ्नै कारमा घुमाएर ल्याएको साथीको पनि जातीय विभेदको व्यवहारले दुखित हुनुपरेको सुनाउँदै शरदले त्यस्ता व्यवहार गर्नेहरुलाई सचेतना दिन गीत गाउने गरेको बताउनुभयो ।
SPONSORED
हे दैव छोडिदेऊ अब भत्काउन मायाका महलहरु
बरु सक्छौ भने आऊ भत्काएर जाऊ विभेदका पर्खालहरु
उसले पनि त पुज्यो तिमीलाई, मैले पनि त पुजें तिमीलाई
तर पुज्यो होला उसले तिमीलाई धनले,
तर मैले पुजें भगवान तिमीलाई पवित्र मनले
कतै आँखा लगायौ कि तिमीले पनि धनमा … है दैव …।
‘धनी गरिव परिस्थिति मात्र हो । जो सधै यस्तै हुँदैन’– शरदले भन्नुभयो– हुनेखाने र हुँदा खानेबीचको विभेद् विरुद्ध पनि सचेतना फैलाउन आफ्नो कलाकारिता प्रयोग गरेको छु । हुन त शरदका आधाउधी आधुनिक गीत छन् । दर्जन बढी जातीय विभेद विरुद्ध छन र अरु फुटकर गीत पनि प्रायः सबै सचेतनामूलक नै छन् । देशकै बढी दुर्घटना हुने जिल्लामध्ये एक दाङ । दैनिकजसो सवारी दुर्घटना र धनजनको क्षतिको समाचार आइनै रहन्छन् । सवारी दुर्घटना रोक्न उहाँले ट्राफिक सचेतना जगाउने गीत पनि स्रोतामाझ ल्याउनु भएको छ ।
विस्तारै गए पक्कै पुगिन्छ, हतारिएर गए भन्न सकिदैन ।
हेल्मेट लगाऊ बाइक चलाउँदा, दुईभन्दा बढी कहिले नचढौं
ट्राफिकले सोधे काजगपत्र देखाउ जबरजस्ती अघि नबढौं
मायाप्रेम, मनोरञ्जन त गीतमा हुन्छ नै । तर शरदका गीत सन्देशमूलक बढी छन् । उहाँ भन्नुहुन्छ– माया प्रेम र मनोरञ्जनसँग सचेतना जोड्नु मेरो आफ्नोपन हो । गीत संगीत मायाप्रेम मात्रै होइन, केही नयाँ सन्देश पनि दिनुपर्छ । मैले मेरो सिर्जनामा प्रयोग गरेको छु । उहाँले गीतले खबरदारी पनि गर्नुपर्ने बताउनुभयो ।
हामीलाई अँध्यारो देख्नेहरु, हाम्रो प्रगति छेक्नेहरु हो ।
हामीलाई किन कुल्चेर हिँड्छौ, देशको कानुन लेख्नेहरु हो ।।
चुनिएर गएका जनप्रतिनिधिप्रतिमाथि खबरदारी मात्रै होइन राष्ट्रप्रेमको सुगन्ध पनि शरदको आवाजमा छुट्दैन ।
बोलीले फाटो नपारे हुन्थ्यो, गोलीले टाटो नपारे हुन्थ्यो ।
मायाले रचेको यो सृष्टिलाई रिसले माटो नपारे हुन्थ्यो ।।
२०४४ मा जन्मिएका ठिटौले शरदलाई गीत संगीतमा सिर्जना दिएर साथ दिने पनि दाङकै स्रष्टाहरु छन् । सन्तोष श्रेष्ठ, गोविन्द मधुर आचार्य, प्रवल विष्ट, प्रकाश केसी, प्रकाश विक र संगीत ज्योतिजस्ता थुप्रै स्रष्टाहरुका शब्द, संगीत र हौसलाले यहाँसम्म आइपुगेको शरदले बताउनुभयो । ‘धोका पाएकालाई मल्हम, कुरीति विसंगति रोक्न सन्देश, राष्ट्रप्रेम पनि चाहिन्छ’– शरदले भन्नुभयो– जनता र राज्यबीचमा विश्वास बढाउने र उछृङखल, ठट्टा भन्दा पनि मान्छेलाई प्रेरणा, ऊर्जा दिने विषय मेरा गीतका विषय नै बन्छन् ।