
छुट्याइएका आइसोलेसन संक्रमितका लागि काम लागेन
दाङ, २१ जेठ । घोराहीको कुइरेपानी क्वारेन्टाइनमा बसेका आमा–छोरीमध्ये छोरीलाई संक्रमण देखियो, आमालाई देखिएन । त्यस्तै अर्की आमालाई देखिएन बच्चालाई देखियो । उनीहरु सबै अझै त्यहीँ बसेका छन् । जिल्लाका आइसोलेसन बेड भएका अस्पतालहरुले पनि संक्रमितलाई उपचार गर्न आनाकानी गरेका कारण जोखिमका साथ संक्रमित र संक्रमण नदेखिएकाहरु सँगै बस्न बाध्य छन् । यो बाध्यताले संक्रमण अरुमा पनि फैलने खतरा देखिएको छ ।
यसरी कोरोना संक्रमितको उपचार गर्ने भनेका अस्पतालहरुले संक्रमितलाई राख्न नमानेपछि दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा क्वारेन्टाइनमै १७ जना संक्रमितलाई राख्नुपर्ने बाध्यता आएको छ । कोरोना संक्रमितको उपचारका लागि बेलझुण्डीमा स्थापना भएको कोरोना विशेष अस्पतालमा बिरामी भरिए भन्दै थप संक्रमित राख्न नमान्दा दुई पालिकाका १७ संक्रमितहरु दुई दिनदेखि क्वारेन्टाइनमै रहेका छन् । बंगलाचुलीमा एकजना चिकित्सकसहित ३ जना स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितहरु रहेका छन् भने घोराहीको क्वारेन्टाइनमा एकजना चिकित्सकसहितको जनशक्तिको निगरानीमा संक्रमितहरु रहेका छन् ।
SPONSORED

उनीहरुमध्ये घोराही उपमहानगरपालिकाका ९ जना र बंगलाचुली गाउँपालिकाका ८ जना कोरोना संक्रमित बिरामीहरु रहेका छन् । बंगलाचुली, राप्ती गाउँपालिका र घोराही उपमहानगपालिकामा सोमबार र मंगलबार १७ जनामा कोरोना संक्रमण देखिएको थियो । १७ संक्रमितमध्ये राप्ती गाउँपालिकाका २ जना बिरामीलाई नेपालगञ्जस्थित सुशील कोइराला मुटु रोग अस्पताल पठाइएको छ भने सोमवार कोरोना संक्रमण देखिएका घोराहीका ९ जनालाई घोराही उपमहानगरपालिकाले वडा नं. ३ को कुइरेपानीमा रहेको क्वारेन्टाइन राखेर उपचार शुरु गरेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिएका छन् ।
SPONSORED

उनले आइसोलेसन बेड छुट्याएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा राख्नका लागि आग्रह गर्दा नमानेको बताए । ‘कोरोना संक्रमितमध्ये १ जना बालिका छिन तर उनको आमालाई संक्रमण देखिएको छैन’, घर्तीले भने– ‘संक्रमित छोरी र संक्रमण नदेखिएको आमालाई क्वारेन्टाइनमा राख्दा थप जोखिम देखिएको छ तर प्रतिष्ठानलाई राख्न आग्रह गर्दा मान्दैनन् ।’ त्यसैगरी अर्की कोरोना संक्रमित १ जना महिलाको बच्चा भएकाले आमाबाट बच्चालाई समेत सर्ने जोखिम रहेको उनले बताए । उनीहरुलाई अस्पतालमा सुरक्षितरुपमा राख्न सके सजिलो हुने भए पनि अस्पतालहरुले नमानेको उनी बताउँछन् ।
SPONSORED

त्यस्तै बंगलाचुलीमा मंगलवार कोरोना संक्रमण देखिएका ८ जना संक्रमितलाई कमिरेचौरस्थित क्वारेन्टाइनमा राखेर उपचार शुरु गरिएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन् । उनले अस्पतालको क्षमता बढाएर बिरामीको उपचार गर्ने समयमा बिरामी भर्ना गर्नै छोडेको बताए । कोरोना संक्रमणको समयमा संक्रमितहरुको उपचारलाई बढाउने बेलामा केन्द्र सरकारले सहयोग नगर्ने र प्रदेश सरकार पालिकालाई जिम्मेवारी दिएर पन्छिन खोज्दा बिरामीहरु उपचार नपाई गाउँमै अलपत्र पर्ने अवस्था आएको बताए । ‘हाम्रो गाउँपालिकामा हिजो कोरोना संक्रमण देखिएका ६ जनालाई अस्पतालले लिन मानेका छैनन्’, गाउँपालिका अध्यक्ष वलीले भने– ‘जसले गर्दा बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार गर्नुपरेको छ ।’ यो अवस्थामा बिरामीहरु उपचार नपाउने अवस्थाको सिर्जना भएको समेत उनले बताए । उनले कोरोना संक्रमितका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा सम्पर्क गर्दा बिरामी लिन नचाहेको समेत बताए ।
काम नगर्ने तर प्रचार गर्नाले समस्या भयो : प्रमुख जिल्ला अधिकारी
यसैबीच प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काम नगर्ने, प्रचार गर्ने बानीले अहिले कोरोना संक्रमितको उपचार गर्न समस्या भएको बताएका छन् । उनले कोरोना संक्रमणको जोखिम कम हुँदा आइसोलेसन बेड छुट्याएका छौं भनेर प्रसार गर्नेले नै अहिले कोरोना संक्रमितको उपचार गर्न नमानेको बताए । ‘काम नगर्ने, प्रसार गर्ने बानीले अहिले समस्या सिर्जना भएको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘हिजो आइसोलेसन बेड छुट्याएका छौं भनेर प्रचार गर्ने नै अहिले विभिन्न बहानामा पन्छिन खोज्दा समस्या भएको छ ।’
प्रमुख जिल्ला अधिकारी रिजालले आइसोलेसन बेड छुट्याएका छौं भन्ने अस्पतालहरुलाई पटक–पटक सम्पर्क गर्दासमेत पन्छिएको बताए । ‘हिजो आइसोलेसन बेड छुट्याएका छौं भन्ने अस्पताल अहिले छुट्याएको बेड नजिकै ल्याव छ, सुत्केरी वार्ड छ भनेर पन्छिने काम गरिरहेका छन्’, प्र्रजिअ रिजालले भने– ‘समस्यादेखि भाग्ने अस्पतालहरुलाई नवीकरण गर्दा जिल्ला स्वास्थ्य कार्यालयले नवीकरण रोक्नुपर्छ ।’ उनले कोरोना संक्रमितको उपचार गर्न कुनै पनि अस्पताल तयार नभएको बताए ।
स्वास्थ्य मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्ला स्वास्थ्य कार्यालयले सम्पर्क गर्दा जिल्लाका १५ वटा अस्पतालहरुले आइसोलेसन बेड छुट्याएको बताएका थिए । शुरुमा अस्पतालका जिम्मेवार व्यक्तिहरुबाटै आइसोलेसन वार्ड छुट्याए पनि अहिले कोरोना संक्रमितको उपचार गर्न मानेका छैनन् । कोरोना संक्रमितको उपचार गर्न नमान्ने घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै बुद्ध इन्टरनेशनल अस्पताल, गोर्खा अस्पताल, मितेरी अस्पताल, दीपज्योति अस्पताल रहेका छन् ।
त्यसैगरी तुलसीपरमा रहेको राप्ती प्रादेशिक अस्पताल, राप्ती लाइफ केयर अस्पताल, चिनारी अस्पताल, तुलसी बाल अस्पताल, तुलसी सिटी अस्पताल, देउखुरीको लमही अस्पताल, फ्लोरेन्स अस्पताल, सिसहनिया स्वास्थ्य चौकी, राजपुर स्वास्थ्यचौकी र नेपाली सेनाको १९ नं. बाहिनी रहेका छन् ।
आइसोलेसन बेड छुट्याउने अस्पतालहरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही १० बेड
बुद्ध इन्टरनेशनल अस्पताल घोराही ३ बेड
गोर्खा अस्पताल घोराही ५ बेड
मितेरी अस्पताल घोराही ३ बेड
दीपज्योति अस्पताल घोराही ३ बेड
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ३ बेड
राप्ती लाइफ केयर अस्पताल तुलसीपुर ३ बेड
चिनारी अस्पताल तुलसीपुर ५ बेड
तुलसी बाल अस्पताल तुलसीपुर ६ बेड
तुलसी सिटी अस्पताल तुलसीपुर ३ बेड
देउखुरीको लमही अस्पताल ३ बेड
फ्लोरेन्स अस्पताल १० बेड
सिसहनियाँ स्वास्थ्यचौकी ४ बेड
राजपुर स्वास्थ्यचौकी ३ बेड
सेनाको १९ नं. बाहिनी तुलसीपुर २ बेड