दाङमा भारतीय मजदुर प्रदर्शनमा, ‘हमारी घर भेजो, नहीं तो यही पर गोली मार्दाे’
घोराही, जेठ ६ । दाङका इट्टा भट्टाहरुमा काम गर्ने भारतीय मजदुरले घर फर्किन पाउनु पर्ने माग गर्दै घोराही क्षेत्रमा प्रर्दशन गरेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १२ बडरास्थित इट्टा भट्टाबाट मंगलबाार बिहान सयौं भारतीय नागरिक घर फर्किन पाउनु पर्ने माग गर्दै प्रर्दशनमा उत्रिएका हुन्। घोराही – १० नारायणपुर बजार क्षेत्रमा उनीहरुले नाराबाजी गरेका छन्।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार घर फर्किन पाउनु पर्ने माग गर्दै इट्टाभट्टामा काम गर्ने भारतीय मजदुर नाराबाजी गरी सडकमा उत्रिएका हुन्। प्रदर्शनमा उत्रिएकालाई आज सम्झाई बुझाई गरेर पठाइएको उनले जानकारी दिए।
‘उहाँहरुले खान पाएनौं र काम पनि पाएनौं, त्यसैले आफ्नो देश फर्किन पाउनु पर्छ भन्ने माग गर्नु भएको छ,’ चन्दले भने ‘हामीले भारतीय अधिकारीसँग कुरा गरिरहेका छौं संभवत आजै बेलुकासम्म केही निकास निस्किएला।’
SPONSORED
उनीहरुले ‘मोदी सरकार हमको घर लैजायो, हमको हमारी घर भेजो, नहीं तो यही पर गोली मार्दो नेपाल सरकार’ भन्ने जस्ता पम्पलेट बोकेका थिए।
उनीहरुको समस्या समाधानको पहल गर्न प्रदेश नं. ५ का प्रदेश प्रमुख डिआइजी रविन्द्र धानुक बाँके गएको एसपी चन्दले बताए।
‘बाँकेका सिडियो कुमार खड्कासँग छलफल भएपछि डिआइजी धानुक बाँके जानु भएको छ,’ एसपी चन्दले भने ‘आज भारतीय सुरक्षाअधिकारीसँग छलफल गरेर समस्या समाधान हुने आशा गर्न सकिन्छ।’
SPONSORED
उनले दाङ जिल्लाका दर्जन बढी इट्टा भट्टामा गरेर झन्डै ६ हजारको हाराहारीमा भारतीय मजदुर रहेको जानकारी दिए।
उनीहरुले विगत एक महिना अगाडिदेखि घर फर्किन पाउनु पर्ने माग गर्दै आएका छन्। दुई महिनादेखिको लकडाउनका कारण इट्टाभट्टाको काम नभएको र खाने रासनपानी सकिएको भन्दै उनीहरुले घर जान पाउनु पर्ने माग गर्दै पटक/पटक आन्दोलन गर्दै आएका छन्।
त्यस्तै उनीहरुले इट्टा भट्टामा बस्नका लागि निर्मित टहरा अस्थायी प्रकृतिका भएको र पानी पर्ने सिजन सुरु भइसकेको भन्दै फर्किन पाउनु पर्ने माग गरेका छन्।
आन्दोलनमा महिला, बालबालिका समेत सहभागी हुने गरेका छन्। लकडाउनको बीचमा भारतीय मजदुर घर जान पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको घटनालाई गम्भीर रुपमा लिएको र तत्कालै समस्या समाधान तर्फ लागिएको एसपी चन्दले बताए।
SPONSORED