तुलसीपुर
४ साउन / दाङमा आज(शनिवार)देखि पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ ।
ढुवानी ब्यबसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा अभाब रहेको पेट्रोलियम पदार्थको आजदेखि आपूर्ति भएको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख सुजित पोख्रेलले बताए ।‘आजदेखि ढुवानी सहज भएको छ’ उनले भने‘ अब देखि नियमित ढुवानी हुनेछ ।’शनिबार मात्रै दाङमा ८० हजार लिटर पेट्रोल र २ लाख २० हजार लिटर डिजेल आएको उनले बताए ।
SPONSORED
उक्त पेट्रोलियम पदार्थ दाङका सबै पम्पमा बितरण गरिने उनको भनाई छ । डिलर र ढुवानी ब्यबसायीबीच सहमति भएपछि पेट्रोलियम पदार्थ ढुवानीमा सहजता आएको उनले बताए । गएको असार २६ गतेदेखि दाङमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन सकेको थिएन् ।
SPONSORED
अहिले दाङमा दैनिक करिब ३२ हजार लिटर पेट्रोल र करिब एकलाख लिटर डिजेल खपत हुने सूचना अधिकारी सूर्य आचार्यले बताए । ढुवानी ब्यबसायीहरुले पानी परेमा पेट्रोलियम पदार्थमा नोक्सानी हुने गरेको भन्दै ढुवानी गरेका थिएनन् ।
SPONSORED
नेपालगंजदेखि दाङसम्म पेट्रोलियम पदार्थ ल्याउँदा ५ देखि ११ डिग्रिको फरक हुने उनको भनाई छ । सूचना धिकारी आचार्यका अनुसार एक डिग्रि तापक्रम कम भएमा एक ट्याङकरमा १५ लिटर डिजेल र २१ लिटर पेट्रोलमा नोक्सानी पुग्छ ।
यही अनुसार नेपालगंजबाट दाङ आउँदा करिब साढे दुईसय लिटर पेट्रोल तथा डिजेल नोक्सानी हुने गरेकाले पनि ढुवानी ब्यबसायले यस्तो समयमा ढुवानी गर्न मानेका थिएनन् ।दाङमा केही पेट्रोल पम्पले भने सिधै नेपालगंजबाट आफै ढुवानी गर्ने गरेका छन् ।
दाङको घाराही स्थित कञ्चन, जलजला र कालीका पेट्रोल पम्पले सिधै नेपालगंजबाट पेट्रोल ल्याउने गरेको सूचना अधिकारी आचार्यले बताए ।त्यस्तै देउखुरी क्षेत्रमा पनि यसरी नै पेट्रोल पम्पहरुले सिधै ढुवानी गर्ने गरेका छन् ।