

रित्तो थाल बजाएर विरोध
अमरराज आचार्य
दाङ, २३ जेठ । सोसल मिडियाबाट सूचना प्रवाह गरियो, ‘शुक्रबार तुलसीपुर चोकमा ४ बजे जम्मा होऔं अनी करको ताकेताका बिरुद्धमा प्रदर्शन गरौं ।’ युवा व्यवसायीहरु थिए यस्तो सन्देश प्रवाह गर्नेहरुमा । त्यही सूचनाका आधारमा ४ बजे क्रमशः त्यहाँ युवाहरुको एउटा भीड जम्मा हुन थाल्यो । झण्डा, मसाल, प्लेकार्ड केही थिएन ती सरकारी निर्णयको विरोध निस्केकाहरुको हातमा । बरु थियो, रित्तो थाल र चम्मा । सूचना दिँदा पनि यसरी आउन भनिएको थियो ।
सोसल मिडियाको सूचनाका भरमा जुटेका उनीहरुका साथमा व्यानर पनि थिएन । ‘स्वतःस्फूर्त भएका कारण व्यानरको आवश्यकता नै भएन’ एक व्यवसायी सुरज बुढाथोकीले भने । चम्चाले रित्तो थालमा ठोक्दाको आवाजले केहीबेर तुलसीपुर चोक गुञ्जियो । त्यो चोकमा यसरी प्रदर्शन गरिएको सम्भवतः पहिलो पटक थियो । ‘लकडाउनमा जारी रहँदासम्म कर तिर्न नसकिने कुरा सरकारलाई सुनाउन यो शैली अपनाएका हौं’, बुढाथोकीले भने– ‘यस्तो अवस्थामा कसरी कर तिर्न सकिन्छ र !’
SPONSORED

सरकारले जेठ २५ मा कर तिर्न ताकेता गरेको थियो । त्यस निर्णयको बिरोध भएपछि असार ७ गतेसम्मलाई समय दिइएको छ । तर व्यवसायीहरुले व्यवसायलाई निरन्तरता दिन सकेपछि मात्र कर तिर्न सकिने बताउँदै आएका छन् । ‘लकडाउन पूर्णरुपमा खुलेको एक महिनापछि मात्र कर तिर्न सकिन्छ’, बुढाथोकीले आफूहरुको मागका बारेमा जानकारी दिँदै भने । व्यवसाय बन्द गरेर घरमा बसेका व्यवसायीहरुलाई राज्यले सहुलियत दिनुपर्ने अवस्थामा अझै समस्यामा पारेको गुनासो सो विरोध प्रदर्शनमा उपस्थित व्यवसायीहरुले गरेका थिए ।
SPONSORED

संकटको अवस्थामा राज्यले उद्योगी तथा व्यवसायीहरुलाई राहत प्रदान गर्नुपर्ने अर्का व्यवसायी मिनराज भाटले बताए । ‘राज्यलाई कर तिर्ने उद्योगी व्यवसायीहरुको समस्या राज्यले बुझ्न सकेन’, भाटले भने । सरकारले गरेको यस प्रकारको निर्णय नसच्चाए आफूहरु थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने व्यवसायीहरुले बताएका छन् । उनीहरुले लकडाउनको विकल्प खोज्न सरकारसँग आग्रह पनि गरेका छन् ।
SPONSORED
